धादिङमा डोजरसहित पहिरोमा पुरिएका तीन जनाको बल्ल खोजी कार्य शुरू


२९ पुष २०७८, बिहीबार
Dhading pahiro

धादिङ । धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिका- १ स्थित लिम्जु पुलबाट तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुख्खा पहिरोमा पुरिएकाहरूको खोजी कार्य बल्ल शुरु भएको छ ।

विहान ८ बजे एक्साभेटरले बाटो खन्ने क्रममा सुख्खा पहिरो खसेको थियो । ठूल्ठूला ढुङ्गासहितको पहिरो खसिरहेकाले प्रहरीले पुरिएका तीन जनाको खोजी कार्य गर्न सकेको थिएन । सुख्खा पहिरो खस्दा एक्साभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकास तामाङ, सहचालक राजु तामाङ, रुबी भ्याली गाउँपालिका- १ का अनुस तामाङ गरी तीन जना पहिरोमा पुरिएका छन् ।

ढुङ्गामाटो खस्ने क्रम रोकिएपछि करिब २ः३० बजेदेखि खोजीकार्य सुरु भएको जिल्ला प्रहरीका कार्यालय धादिङका प्रमुख राकेश सिंहले जानकारी दिए । उनका अनुसार विहान ८ बजे बा २ क ४८२१ नम्बरको एक्साभेटरले सडक खन्ने क्रममा सुख्खा पहिरो खसेको थियो । लगत्तै प्रहरी टोली उक्त क्षेत्रमा पुगेपनि ढुंगा माटो खसिरहेकाले पुरिएकाहरूको उद्दार गर्न सकेको थिएन ।

पहिरो जाने क्रम रोकिएपछि उद्धार शुरु भएको एसपी सिंहले जानकारी दिए । उनका अनुसार उद्दारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ पुगेको छ । विहीबार बिहान पहिरो जाँदा निर्माण कार्यमा प्रयोग भएको एक्साभेटर करिब १५० मिटर तल खसेको छ । ‘प्रहरी र सेनाको टोली घटनास्थलतर्फ गइरहेको छ,’ उनले भने ‘भर्खरैबाट पुरिएको क्षेत्रमा खोतल्न थालिएको छ, विहानभरी पहिरो खसेकोले उद्धार गर्न सक्ने अवस्था भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७