ताप्लेजुङमा दोस्रोपल्ट हिमपात, जनजीवन प्रभावित


२९ पुष २०७८, बिहीबार
snow taplejung ghunsha

ताप्लेजुङ । ताप्लेजुङमा दोस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुस्किल भएको छ ।

यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताए ।

भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला-६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलो पटक हिमपात भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७