चालु खाता घाटा बढेर तीन खर्बमाथि पुग्यो

६ महिना २४ दिनको बस्तु र सेवा आयात धान्न सक्ने मात्र विदेशी मुद्रा सञ्चिती


२९ पुष २०७८, बिहीबार
dollar 1

काठमाडौं । मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो ।

यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । उच्च आयातका कारण देशको वैदेशिक मुद्राको सञ्चिती पनि मंसिरमा थप ओरालो लागेको छ । विदेशी मुद्राको सञ्चिती १० अर्ब ३ करोड डलर बराबरमा सीमित छ । पाँच महिनाकै अवधिमा विदेशी मुद्राको सञ्चिती १ अर्ब ७२ करोड डलरले घटेको छ । गत असारमा देशसँग ११ अर्ब ७५ करोड डलर थियो । यो सञ्चितीले ६ महिना २४ दिनको वस्तु र सेवा आयात गर्न पुग्छ ।

यसअघि अर्थतन्त्रको बाह्य क्षेत्रमा मात्रै चाप पर्दै आए पनि मंसीरमा आइपुग्दा मुद्रास्फिति डरलाग्दो गरी बढेको देखिएको छ । मंसीरमा उपभोक्ता मूल्यवृद्धि गत वर्षको यही अवधिका तुलनामा ७.११ प्रतिशतले बढेको छ । यो कात्तिकमा ५.३२ प्रतिशत मात्रै थियो ।
मंसिरसम्म देशमा विदेशबाट रु. ८ खर्ब ३८ अर्ब ४१ करोडको वस्तु आयात भएको छ । जबकि, निर्यात भने रु. १ खर्ब २ अर्ब ९२ करोड मात्रै छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महीनामै देशले बाह्य व्यापारमा रु. ७ खर्ब ३५ अर्ब व्यापार घाटा बेहोरिसकेको छ । कात्तिकका तुलनामा मंसिरमा आयातको वृद्धिदर भने केही मत्थर भएको छ । कात्तिकमा ६१.६ प्रतिशतले बढेको आयात मंसिरमा ५९.५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र ब्यांकले आयातलाई निरुत्साहन गर्ने नीति लिएका कारण पुसमा भने आयातको वृद्धिदर पर्याप्त घट्ने आँकलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७