स्थानीय तहको चुनावबारे छलफल गर्न आज निर्वाचन आयोगमा सर्वदलीय बैठक


३० पुष २०७८, शुक्रबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । स्थानीय तहको चुनावबारे छलफल गर्न आज (शुक्रबार) निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ ।

बिहान ११ बजेपछि शुरु हुने बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ । आयोगका पदाधिकारीले गएको कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पालिकाको चुनाव निर्धारित मितिमै गर्नुपर्ने सुझाव दिएका थिए ।

गएको पुस ९ गते प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर सरकारले अहिलेसम्म यसबारे कुनै निणर्य गरेको छैन । आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने जानकारी दिनुभएको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७