राष्ट्रपति कार्यालय अगाडि गाँजा खेती गरेपछि दक्षिण अफ्रिकाका ‘किङ खोइसान’ पक्राउ


३० पुष २०७८, शुक्रबार
King Kash1642092558

जोहान्नेसवर्ग । दक्षिण अफ्रिकाको प्रिटोरियास्थित राष्ट्रपति कार्यालय नजिकै रहेको गाँजा बारीलाई प्रहरीले नष्ट गरेको छ । आदीवासी खोइसान समुदायका अभियन्ताहरूले लगाएको गाँजालाई प्रहरी नष्ट गरेको हो । तीन वर्षदेखि उनीहरू त्यहाँ शिविर खोलेर बसेका छन् ।

आफूलाई ’किङ खोइसान’ भनिने उनीहरूको नाइकेलाई प्रहरीले घिसारेर लिएको थियो । तर, ती नाइकेले एउटा ठूलो गाँजाको बोटमा मुठ्ठी कसेर समाएका थिए । उनी चिच्याएर भन्दै थिए, ‘प्रहरी… तिमीहरूले युद्ध सुरु गर्‍यौ । हामी त यहाँ शान्तिपुर्वक बसिरहेका थियौँ । अहिले पनि तिमीहरूकै लागि मात्र आत्मसमर्पण गरेका छौँ ।’

उनीसहित उनका केही सहकर्मी अभियन्तालाई अवैध गाँजा खेती गरेको र सार्वजनिक स्थानमा मास्क नलगाएको अभियोगमा थुनिएको छ ।
खोइसान दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो आदीवासी समूह हो । तर, तिनीहरू आफूलाई अपहेलित र उत्पीडित ठान्दछन् । सन् २०१८ मा यस समूहले आफ्नो भाषालाई सरकारी मान्यता दिन माग राख्दै राष्ट्रपति कार्यालय सामुको नेल्सन मन्डेलाको विशाल सालिक नजिकको हरियो चौरमा शिविर खडा गरेको थियो ।

‘किङ खोइसान’ की पत्नी सिन्थियाले दक्षिण अफ्रिकाको आईओएल न्युज साइटलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छन्, ‘यसरी हाम्रा मानिसहरू पक्राउ परेकोमा निकै दुःख लागेको छ । राष्ट्रपति हामीसँग कुरा गर्न चाहँदैन । खोइसानहरू बस मान्यता चाहन्छन् । हामी चिकित्सकीय कारण जस्तै क्यान्सर र उच्च रक्तचापको उपचारका लागि गाँजा प्रयोग गर्दछौँ । हामी यी बोट पनि तरकारी बारीमा मात्र रोपेका छौँ ।’ सन् २०१८ देखि दक्षिण अफ्रिकामा निजी स्थानमा पनि गाँजाको प्रयोगलाई अपराधमा गणना गरिएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७