रिसइबीपछि मुफ्तारको हत्या, पाँच जना पक्राउ


३० पुष २०७८, शुक्रबार
mukhtar miya

पर्सा । यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका-२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज-३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।

मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतीहारी-६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई-रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका-५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अनुसन्धानका क्रममा मियाँको हत्या भएको खुल्न आएको र हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको बताए । मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।

उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न रु ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७