एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका जिल्लामा अधिकांश पूर्व माओवादी नेता पाखा लागे


३० पुष २०७८, शुक्रबार
UML Sudurpaschim

कैलाली । एमालेको जिल्ला नेतृत्व चयन गर्न सुदूरपश्चिमका जिल्लामा भएका निर्वाचनमा पदाधिकारीका उम्मेदवार बनेका पूर्व माओवादी नेताहरू हारेका छन् । कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्व माओवादी नेताहरू ‘क्लिन स्विप’ भएका छन् । सहमतिका आधारमा कमिटी चयन भएका जिल्लामा पनि पूर्व माओवादीको प्रतिनिधित्व न्यून देखिएको छ ।

सहमति र निर्वाचन दुवै प्रक्रियाबाट आएका परिणामले सुदूरपश्चिममा माओवादीबाट एमालेमा पुगेका नेता लेखराज भट्टलाई कमजोर देखाएको छ । एमालेको हालै सम्पन्न महाधिवेशनबाट भट्ट एमालेको केन्द्रीय सचिव बनेका हुन् । उनी सुदूरपश्चिम प्रदेशका इञ्चार्ज समेत हुन् । तर, निर्वाचनमा आफूले समर्थन गरेका नेताहरू पदाधिकारीमा पराजित भएपछि भट्टलाई गृहक्षेत्रमा ‘धक्का लागेको’ एमाले वृत्तमै चर्चा हुन थालेको छ । भट्ट गृह जिल्ला कैलालीमा समेत कमजोर देखिएका छन् । आफूसँगै आएका र आफैले समर्थन गरेका उम्मेदवारहरू पराजित भएपछि भट्ट पार्टी कमिटीमा कमजोर देखिएका छन् ।

एमाले बनेका पूर्व माओवादी नेताहरू भट्टकै समर्थनमा विभिन्न जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका थिए । केही जिल्लामा अध्यक्षसहित प्यानलका अधिकांश उम्मेदवार निर्वाचित हुँदा माओवादीबाट गएका नेताहरू पराजित भएका छन् । एमाले कञ्चनपुरको अध्यक्षमा पूर्व माओवादी नेता वीरबहादुर थापा पातललाई हराउँदै सुरेन्द्र विष्ट प्यानलसहित विजयी भए । विष्ट दुई सय ८१ मत ल्याएर विजयी हुँदा थापाले एक सय ८३ मत पाए ।

नेकपा हुँदा अध्यक्ष रहेका थापा नेकपा खारेजपछि एमाले बन्दासमेत जिल्ला अध्यक्ष थिए । भट्टले आफूसँगै एमालेमा गएका थापालाई जिल्ला अध्यक्ष बनाउन चाहेका थिए । थापाको प्यानललाई पूर्वमाओवादी नेताहरूसँगै ओली पक्षकै केही नेता र एमालेमा १० बुँदे सहमतिका पक्षधर नेताहरूको समर्थन थियो । तर, थापा पार्टी अध्यक्ष केपी ओलीनिकट विष्टसँग पराजित भए ।

भट्टको गृह जिल्ला कैलालीमा पनि एमाले बनेका पूर्वमाओवादी नेताहरू पदाधिकारीमा पराजित भएका छन् । भट्टकै समर्थनको प्यानलबाट अध्यक्ष र उपाध्यक्षले चुनाव जित्दा सचिवका उम्मेदवार दानबहादुर विक र उपसचिवका उम्मेदवार प्रेमबहादुर डगौरा भने पराजित भए । दुवै जना माओवादी त्यागेर एमाले बनेका हुन् ।

अध्यक्षमा निर्वाचित रतनबहादुर थापाको प्यानललाई प्रदेश इन्चार्ज भट्टसँगै सहइन्चार्ज कणर् थापाको समर्थन थियो । यही प्यानलबाट पदाधिकारीका उम्मेदवार विक र डगौरा पराजित हुँदा भट्टका स्वकीय सचिव हितेश ओझासहित केही पूर्वमाओवादी नेताहरू भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।

अछाममा पनि पूर्व माओवादीबाट गएका एमाले नेताले पदाधिकारीमा हार व्यहोर्नुपरेको छ । जिल्ला अध्यक्षमा भट्टको समर्थन रहेका चन्द्र बोहरा विजयी हुँदा उनकै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका पूर्व माओवादी आदर्श साउद फराकिलो मतान्तरले पराजित भए । साउद प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराका स्वकीय सचिव थिए ।

प्रदेश इन्चार्ज भट्टनिकट बोहरा नेकपा विवाद हुँदा मन्त्री पदबाट राजीनामा दिएर ओली पक्षमा लागेका थिए । उनी अहिले अछामको जिल्ला इन्चार्ज छन् । अछाममा ओली र भीम रावलनिकट दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । माओवादीबाट गएका एमाले नेताहरूले ओली प्यानलबाट उम्मेदवारी दिएका थिए । अध्यक्षमा हारे पनि पदाधिकारीमा रावल निकट प्यानलका उम्मेदवार विजयी भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७