पनौतीमा मकर स्नान शुरु


१ माघ २०७८, शनिबार
makar mela 900x600 1

काभ्रे । प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला शनिबारदेखि शुरु भएको छ । मेला भर्न आएका दर्शनार्थीहरूले बिहानैदेखि त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गरिरहेका छन् ।

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो । कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी एक स्थानमा २५ जना गरी १ पटकमा करिब ४ सय जनाले नुहाउने व्यवस्था मिलाएको पनौती नगरप्रमुख भीम न्यौपानेले दाबी गरे ।

मेलाको रुपमा सञ्चालन नगर्ने निणर्य जिल्ला कोभिड संकट व्यवस्थापन समिति र पनौती नगरपालिकाले गरेको छ । दुवै संस्थाले जारी गरेको सूचनामा २५ जना भन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सम्पूणर् सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भनिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि २५ जनाभन्दा बढी भेला भएर कार्यक्रम गर्न सरकारले रोक लगाएको आधारमा मेला, मनोरञ्जनात्मक कार्यक्रमहरू भने रोक लगाएको नगरपालिकाले जनाएको छ । यसअघि मकर मेलाको अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७