थारु बस्तीमा माघीको रौनक


१ माघ २०७८, शनिबार

कञ्चनपुर । थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।

कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ का रामप्रसाद चौधरीले माघीले एक सातायता बस्तीमा चलहपहल बढेको बताए ।

‘हाम्रो मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै छौं’, चौधरीले भने, ‘यस पटक पनि पर्वसँगै सावधानी अपनाउनुका साथै स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्न जरुरी छ ।’ वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु समुदायको गीतमा भनिएझैं यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा यो समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गरेको चौधरीको भनाइ छ ।

त्यसैगरी यहाँको बेलौरी नगरपालिका-३ का स्थानीय घुम्मन चौधरीले परम्परागत रुपमा मनाउँदै आएको पर्वको रौनकता रहेपनि पहिले जस्तो नरहेको बताए । ‘माघीपर्वलाई जुन महत्व दिएर संरक्षण र सम्वद्र्धन हुनुपर्ने हो त्यो भएको छैन’, उनले भने, ‘माघीपर्व मात्रै नभई हाम्रो संस्कृति पनि हो ।’ माघी पर्वको अवसरमा यहाँको शुक्लाफाँटा नगरपालिकाले माघ ३ गते एक दिन बिदा दिने निणर्य गरेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिए ।

‘दीर्घकालीन रुपमा माघीको पर्व र संस्कृतिको जगेर्नाका लागि हाम्रो पनि सहयोग रहन्छ’, ऐरले भने, ‘थारु संस्कृति र पहिरन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूणर् छन्, संरक्षण गर्नै पर्छ ।’ थारु समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माण समेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहेको छ ।

त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको बेलौरीकै सुकराम चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिक्री खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको चौधरीको भनाइ छ । सो अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादक पदार्थ समेत उत्पादन गरेर खाने प्रचलन रहिआएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका-२ का परदेशी चौधरीले कोरोना कहरले गर्दा माघीमा सचेत भएर मनाउनुपर्नेमा जोड दिए । ‘घर/छिमेकमै विधि प्रक्रिया पूरा गरी रमाइलो गरी मनाउने हो’, उनले भने, ‘धेरै तामझाम र भीडभाड गर्ने माहोल कोरोनाका कारण छैन ।’ यता स्थानीय प्रशासनले पनि भीडभाड कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न यसअघि नै भनिसकेको छ । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७