किसानको बिजुलीको बिल नगरपालिकाले तिरिदिने


१ माघ २०७८, शनिबार

सिरहा । गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निणर्य गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै सो नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निणर्य गरेको मेयर देवनाथ साहले बताए ।

माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले त्यसका लागि कार्यविधिहरू बनिरहेको बताए । नगरपालिकाभित्र ५९२ कृषि मिटर रहेको छ । अझै जडान गर्ने काम भइरहेकाले मिटरको संख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए । यसअघि बिजुलीको बिल नतिरेको कारण केही डीप बोरिङहरु बन्दको अवस्थामा थियो ।

नगरपालिकाले गत वर्ष ती डीप बोरिङहरुको बिजुलीको बक्यौता रकम भुक्तानी गरेपछि अहिले सञ्चालनमा आएको उनले बताए । उनले भने, यहाँका किसानले आकाशको भरमा खेती गर्छन् तर समयमा पानी न पर्दा किसानहरू मर्कामा परिरहेको थाह पाएर नै कृषिका लागि बिजुलीमा नगरपालिकाले पुरा सहयोग गर्न लागेको छ ।’

गोलबजार नगरपालिका कृषिमा आत्मनिर्भर जस्तै थियो, तर पछिल्लो समय सिँचाइका अभावका कारण तरकारी उत्पादनमा कमी आएको छ । गोलबजार नगरपालिकामा लाग्ने विभिन्न बजारमा अहिले बाहिरबाट पनि तरकारी आउन थालेको छ । तरकारीलगायत कृषिका अन्य बालीमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले प्रयास गरिरहेको मेयर साले बताए । तराई मधेसमा यतिखेर किसानका लागि विभिन्न माग राखी सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७