दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान


१ माघ २०७८, शनिबार
milk

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो ।

‘गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ’, अध्यक्ष वंशलाल तामाङले भने, ‘कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका छन् ।’

‘इन्द्रावती समृद्विको आधार-शिक्षा-कृषि-स्वास्थ्य-पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि क्षेत्रलाई व्यवस्थित गराउन गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्द्र समेत स्थापना र प्रवद्र्धन गर्ने भएको छ । किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषक व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने गाउँपालिकाको जिकिर छ ।

यसैगरी इन्द्रावती नदी किनारमा वर्षौंदेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा नापी गर्न आवश्यक बजेट व्यवस्था गर्ने निणर्यसमेत पारित गर्नाका साथै सिपाघाट-ज्यामिरेमाने-नवलपुर-सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामकरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष २०७७/७८ को हालसम्मका उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यो आर्थिक वर्षमा १९ दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको र बाँकी योजना सम्झौता र भुक्तानीको क्रममा रहेको उल्लेख गरे । गाउँसभाले चौमासिक समीक्षासँगै योजना संशोधन तथा रकमान्तर, करका दर, दायरा थप तथा संशोधन, कार्यविधि स्वीकृत र खरिद समिति तथा मूल्याङ्कन समिति गठनलगायत एजेण्डा पारित गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७