चार किलो चामल किन्न हुम्लीलाई महाभारत


२ माघ २०७८, आईतवार
chamal humla

हुम्ला । तस्बिरमा देखिएको मानिसको भिड कुनै जात्रा वा पर्वको होइन । यो चार केजी चामलका लागि सिफारिस माग्न जिल्ला प्रशासन कार्यालयमा आएका हुम्ली जनताको भिड हो ।

तीन महिनादेखि चामल नपाएपछि हुम्ली नागरिक तोक-आदेश लगाउन जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका थिए । नेपाली नागरिकताको फोटोकपीसहित उनीहरू आएका थिए । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तोक-आदेश लगाएपछि हुम्लीले प्रतिपरिवार चार केजी चामल पाउने व्यवस्था छ ।

यसका लागि उनीहरू चार घन्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुग्ने गरेका छन् । चार केजी चामल पाउने भएपछि बिहानै ६ बजे हिँडेर सिमकोट पुगेको स्थानीय गणेश बोहोराले बताए । तर, चामल पाउने-नपाउने कुनै टुंगो नभएको दुःखेसो गरे । ‘सधैँ वडा कार्यालयबाट दिएको रासनकार्डबाट चामल पाउँथ्यौँ । यसपटक भने नागरिकताको प्रमाणपत्रको फोटोकपी बोक्नुपर्ने बाध्यता छ,’ बोहराले भने ।

चार किलो चामल लिन नागरिकताको फोटोकपी बोकेर तोक-आदेश लगाउनुपर्ने प्रावधानले सर्वसाधारण नागरिकलाई दुःख दिने काम मात्रै भएको सिमकोट गाउँपालिका-२ की जानकी भण्डारीको दुखेसो छ । स्थानीय तहले दिएको रासन कार्डसँग नागरिकता चामल खान धरौटी राखेजस्तै भएको उनले गुनासो गरिन् । चार किलो चामल किन्न हुम्ली नागरिकलाई महाभारत भएको स्थानीयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चामल पाउने नागरिक नदोहोरिऊन् भनेर विवरण राख्न नागरिकताको फोटोकपी अनिवार्य गरिएको जानकारी दिए । ‘चामल पाउने सबैको रेकर्ड राखेका छौँ, कोही नदोहोरिऊन् र सबैले चामल पाऊन् भनेर नागरिकता अनिवार्य गरिएको हो । बजार क्षेत्रमा प्रतिपरिवार पाँच केजी दिने गरेका छौँ,’ आचार्यले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७