रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड, नियन्त्रण गर्न प्रहरी परिचालित


२ माघ २०७८, आईतवार
tori bari

बागलुङ । उत्तरतिर लस्करै चाँदीझैं सेता देखिने हिमश्रृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका-१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा युवा युवतीको भीड ।

बेनी-बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुलिरहेका छन् ।

स्थानीयवासी सुनिता बोगटीले आफ्नो घरअगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै सोचेकी थिएनन् । घरअगाडि कालोपत्रे सडक आसपासमा पहेंलपुर फुलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उनी दङ्ग छिन् । केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्रे भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।

कोरोना सङ्क्रमणको रोकथामका लागि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने, भीडभाड गर्न नपाइने सूचना जारी गरेको छ । तर शनिबार माघे सङ्क्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले भीड नगर्न आग्रह समेत गरेको थियो ।

बेनी-बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको संख्या अत्यधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाइ मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो । ‘तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ’, स्थानीयवासी भानु माविका प्रधानाध्यापक भरत खत्रीले भने । उनका अनुसार, तोरी उत्पादन हुने सिजन बाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् ।

चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृष्यसँगै समथर फाँटको पहेंलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ । तोरीमा रमाउनै आसपासका क्षेत्रमा वनभोजसहित हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ । ‘तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्’, महतले भने ।

तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । उता बेनी-४, सिङ्गा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताइन् । ‘टिकटकमा देखेको भन्दा राम्रो लाग्यो, एकैपटक भीडभाड हुँदा मेला आएजस्तै भएको थियो’, उनले भनिन् । कालोपत्रे सडकबाटै तस्बिर लिँदा समेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए ।

पूर्व सूचना विना प्रहरीले दुःख दिएको घुम्न गएकाहरूको गुनासो थियो । स्थानीयवासीले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए । यता, बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै हटाएको प्रहरीले जनाएको छ । रत्नेचौर-अर्जम-ज्यामरुककोट सडकखण्ड अन्तर्गत ९०० मिटरको कालोपत्र सडकमा रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन् । घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ ।

नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीमा पहेँलो तोरी खेती हुन्छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ । साढे दुई दशक अगाडिसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिँडेर आउने गरेका थिए । तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनीकरण गर्न पहल गरिएको छ । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । समथर भूभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तेरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाइ छ । तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तव्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन माग समेत गरेका छन् ।

छिमेकी जिल्ला बागलुङको कुडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ । तोरीको बोटलाई सागका रुपमा तरकारीसमेत बनाउने गरिन्छ । गाउँबस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७