प्रदेश २ को नाम र राजधानी तोक्न आज मतदान


३ माघ २०७८, सोमबार
Pradesh 2

जनकपुर : प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि आज (सोमबार) मतदान हुदैंछ । सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि मतदान हुनेछ ।

नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ–आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन मतदान हुने भएको हो ।

आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको हो । सोमबार सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।

सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ ।

प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो । जानकी एमाले र नेकपा (एकीकृत समाजवादी) प्रस्ताव हो  । मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो । यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम मध्य मधेस भनेर छुट्टै प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरुले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन् ।

प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार छ । प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १ सय ४ सांसद छन् । प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत अनिवार्य छ ।

यसअघि चैत २०७६ मा पनि नाम र राजधानी टुंग्याउन गरिएको कुनै प्रस्तावमा दुई तिहाई मत पुग्न सकेको थिएन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७