प्रहरीको बढुवामा विभूषण बापत पाउने अंक ​नजोडिने


३ माघ २०७८, सोमबार
Nepal Police

काठमाडौं : नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ ।

यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलन थियो । यससँगै अब पहुँचका आधारमा विभूषण पाउने र त्यसकै आडमा वरिष्ठतम सदस्यलाई पनि उछिनेर बढुवा हुने चलखेलमा लगाम लागेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक वर्ष विभूषण पाउने गरेका थिए । संगठनको नीति र सिफारिसविपरीत कर्मचारीले विभूषण पाउन फौजको ‘चेन अफ कमान्ड’ लाई समेत चुनौती दिन थालेको र यसबाट बढुवाका ज्येष्ठ सदस्यलाई समेत मर्का परेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले बढुवा मूल्यांकनमा विभूषणबापत पाउने नम्बर कटौतीको प्रस्ताव गरेको थियो ।

प्रहरी नियमावली २०७१ ९नवौं संसोधन० गर्दै गृह मन्त्रालयले यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशन गरेको हो ।

७ वटा दर्जा थपिए

यस्तै प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको छ । अहिले जवानबाट हवल्दार, हवल्दारबाट सहायक निरीक्षक (असई) र असईबाट सई हुने प्रावधान रहेकोमा नियमावली संशोधनसँगै हवल्दारबाट सहायक हवल्दार, सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा गरिने छ । त्यस्तै सईभन्दा माथि वरिष्ठ सई रहने गरी एक तह माथिको दर्जा थप गरिएको छ ।

थप गरिएका दर्जामध्ये वरिष्ठ सईको दर्ज्यानी चिन्ह ३ वटा तारा रहने छ। त्यस्तै वरिष्ठ हवल्दारको दर्ज्यानी चिन्ह हल्का फिक्का एल आकारको तीनवटा धर्सामा ठाडो धर्सा र सहायक हवल्दारको दुईवटा एल आकारको धर्सा रहने छ । बाँकीको यसअघिकै दर्ज्यानी कायम गरिएको छ । कार्यालय सहयोगीलाई पनि प्रथमदेखि पञ्चम श्रेणीगत रुपमा विभाजन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७