आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डब्ल्यूएचओ महानिर्देशक


५ माघ २०७८, बुधबार

काठमाडौं, ५ माघ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिएको बताएका छन् ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने बताएका हो।

उनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्‍याएका छन् ।

‘ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ’, उनले भने ।

उनका अनुसार विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले गर्दा धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने उनले बताएका छन् ।

‘ओमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ९आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु,’ उनले भनेका छन्, ‘ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।’

उनले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवतस् नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिए । उनले ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उनले जानकारी दिए ।

डा. टेड्रोसले अर्को साता ३४ राष्ट्र सहभागी हुने विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्ड बैठक पनि बस्न गइरहेको बताउँदै, सो बैठकको प्रमुख एजेण्डा पनि महामारी र खोपको समतामूलक वितरणमै केन्द्रित हुने बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७