अझै तीन दिनसम्म मौसम सुधार नहुने


७ माघ २०७८, शुक्रबार
barsa himpat scaled

काठमाडौं, ७ माघ । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय भएको केहीदिन देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताइन् ।

पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ । मौसमविद शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् । ‘केहीबेर घाम लागेजस्तो गरे पनि फेरि बदली भइहाल्छ,’ उनले भनिन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।

यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

हामीकहाँ यो प्रणालीको प्रभाव आउदा कहिलकाहीं थोरै दक्षिणतिर अथवा उत्तरतिर सर्ने हुँदा पूर्वानुमान ठ्याक्कै नमिल्न सक्छ। तर मौसम पूर्वानुमानका अमेरिकी तथा युरोपेली दुवै मोडलले बिहीबारदेखि देशभर मौसम बदली हुने प्रष्ट देखाएका छन,’ उनले भने। उनी यो वर्षालाई ‘माघे झरी’ भन्न सकिने तर्क गर्छन्।

उनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तिमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको छ– आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७