डाबरको मह पनि ‘गुणस्तरहीन’


१० माघ २०७८, सोमबार
Honey
फाइल फोटो

काठमाडौँ : गत माघ ६ गते महानगरीय अपराध महाशाखाले काठमाडौंको ज्याठा बस्ने नरेश भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गर्‍यो । नक्कली मह बनाएर बजारमा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरी ७ हजार ६०० केजी तयारी मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ बरामत गरेको थियो ।

श्रेष्ठले आफ्नी श्रीमति रस्मिलाको नामको प्याकेजिङ कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसेर मह बिक्री वितरण गर्दै आएका थिए ।

बजारमा गुणस्तरहीन महको बिगबिगी भएको सूचनाको आधारमा प्रहरीले कारबाही सुरु गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महलाई ‘मौरीद्वारा फूल वा रुखको बिरुवाको कुनै भागमा भएको रस जम्मा पारी मौरीद्वारा नै घारमा विशेष प्रकारले तयार पारेको गुलियो र बाक्लो तरल खाद्य पदार्थ’ भनेको छ ।

महानगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा मानव शरीरलाई क्यान्सर गराउन सक्ने तत्त्वको मात्रा बढी पाइएको छ । स्पर्श हनीमा पाइएको अत्यधिक एचएमएफको मात्राले मानव शरीरलाई गम्भीर असर पुराउन सक्ने र क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

श्रेष्ठको स्पर्स हनीमा मात्रै होइन डाबर नेपालले उत्पादन र वितरण गर्दै आएको डाबरको मह विरुद्ध पनि प्रहरीमा उजुरी परेको स्रोतको दाबी छ । यही सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले डाबर कम्पनीले उत्पादन गर्ने महको गुणस्तर परीक्षण गर्न लागेको बताइएको छ ।

डाबर पनि ‘गुणस्तरहीन’

विभागले शुद्ध महको गुणस्तरका लागि विभिन्न मापदण्ड तोकेको छ । जस अनुसार शुद्ध महमा जलांश २३ प्रतिशतभन्दा नबढेको,भष्म ०.५ प्रतिशतभन्दा नबढेको, सुक्रोसको मात्रा शुद्ध फूरसको महमा ५ प्रतिशतभन्दा नबढेको,अन्यमा १० प्रतिशतभन्दा नबढेको हुनुपर्नेछ ।

शुट फूरसको महमा रेड्युसिंग सुगरको मात्रा ६५ प्रतिशतमा नघटेको र अन्य महमा ६० प्रतिशतमा नघटेको हुनुपर्छ । विभागले तोकेको मापदण्डमा फ्रुक्टोज र ग्लुकोजको अनुपात (एफजी रेसियो) ०.९५ नघटेको हुनुपर्ने र अम्लता ०.२ प्रतिशत नबढेको हुनुपर्ने उल्लेख छ । शुद्ध महमा पानीमा नघुल्ने ठोस पदार्थ ०।५ प्रतिशतमा नबढेको हुनुपर्ने छ भने हाइड्रोक्सीमिथाइल फफुरल (एच–एम–एफ) प्रति किलोग्राम महमा ४० मिलिग्रामभन्दा बढी नबढेको हुनुपर्ने उल्लेख छ ।

स्रोतका अनुसार डाबरले उत्पादन गरेको महमा पनि यी मापदण्ड नपुगेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘शुद्ध छ भने तेलको धारा जसरी बिस्तारै त्यान्द्रो भएर झर्छ । अशुद्ध मह उल्टो पार्ने बित्तिकै एकैपटक झर्छ । डाबरको मह एक पटक हेर्नुहोस् एकैपटक झर्छ ।’ विज्ञहरुका अनुसार शुद्ध महमा मसिना फिँज देखिन्छन् भने अशुद्ध महमा ठूला पानीका फिँज देखिन्छ । स्रोतले भन्यो, ‘डाबरको महमा पनि ठूला पानीका फिँज देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७