शेखर समूह भर्चुअल भेलाको निष्कर्ष : वैशाखमै स्थानीय तहको चुनाव, चुनावमा गठबन्धन घातक

सभापति देउवाले एकलौटी गरेको भन्दै तिव्र बिरोध र असन्तुष्टि


१० माघ २०७८, सोमबार
Dr. Shekhar Koirala

काठमाडौंँ : नेपाली कांग्रेसको शेखर कोइराला समूहले वैशाखमै स्थानीय तहको चुनाव गर्नु पर्ने र चुनावमा गठबन्धन गर्न नहुने निष्कर्ष निकालेको छ । कांग्रेसका संस्थापनइतर समूहको सोमबार भएको भर्चुअल भेलाले संवैधानिक मर्म अनुरूप वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकाले एक नेताले बताए ।

यसैगरी भेलाले अब हुने तीनै तहको निर्वाचनमा गठबन्धनको भारी बोक्न नहुने निष्कर्ष निकालेको छ । भेलामा नेता कोइरालाले सभापति शेरबहादुर देउवाले गठबन्धनका नाममा आफ्ना मान्छेहरुलाई मात्रै टिकट दिने तयारी गरेको भन्दै त्यसको विरुद्धमा जानुपर्ने बताएका थिए ।

भेलामा अर्जुननरसिंह केसीले पार्टीभित्र न्यायिक साझेदारीको नभएको सभापति देउवाले ४० प्रतिशतभन्दा बढी मतको बेवास्ता गरेको बताएका थिए ।

‘एकलौटी तरिकाले देउवा अघि बढ्यो’
भेलाले सभापति देउवा एकलौटी तरिकाले अघि बढेको पनि निचोड निकालेको एक केन्द्रीय सदस्यले बताए । स्थानीय तहको निर्वाचनको मिति तोक्ने लगायतका बिषयमा सभापति देउवाले पार्टीभित्र छलफल नगरी मनोमानि ढंगले अघि बढेको भन्दै नेताहरुले तिव्र बिरोध गरेका थिए ।

सभापति देउवा केही सीमित मानिसहरुको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्र मात्रै समिति भएको भन्दै नेताहरुले तिव्र असन्तुष्टि जनाएका थिए ।

नेता कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग भर्चुअल माध्यमबाट संवाद गरेका थिए । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी थिए ।

उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार छलफलमा सहभागी थिएनन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७