शेष घलेको आँखा शेराटनसँगै जोडिएको केशर महलमा


११ माघ २०७८, मंगलवार
Shesh Ghale

काठमाडौँ : ऐतिहासिक महत्वका स्थलहरु एकपछि अर्को व्यापारीहरुले कब्जा गरिरहेको बेला ऐतिहासिक महत्वको केशर पुस्तकालय पनि कौडीको मूल्यमा व्यापारीलाई दिने तयारी भएको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण नसकिँदै सरकारी अधिकारीहरूले व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार पारेको उच्च अधिकारीले बताएका छन् ।

स्रोतका अनुसार एनआरएनका पूर्वअध्यक्ष शेष घलेलाई उक्त ऐतिहासिक भवनमा होटल बनाउन दिने गरी तयारी सुरु गरिएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल र मन्त्रालयका अधिकारीहरूले केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई अगाडि बढाएको स्रोतको दाबी छ ।

घलेको लगानी केशर महलसँगै पाँच तारे शेराटन होटल निर्माण भइरहेको छ । कान्तिपथस्थित केशरमहलसँगै करिब १४ रोपनीमा जमिनमा बनिरहेको होटलमा २२५ वटा गेस्ट र सुइट रुम रहने छन् । घलेले सन् २०१४ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दा २०१८ बाट होटल सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए। होटल शेराटनले २०१४ मै निर्माण सुरु गरिए पनि भूकम्प र नाकाबन्दीको कारणले समेत पूर्वनिर्धारित लक्ष्यभन्दा ढिलाइ भएको छ। घलेले शेराटनसँगै जोडिएका केशर महलका लागि जोड बल गरिहेको स्रोतको दाबी छ ।

स्रोतका प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजु देउवासँग नजिक रहेका घलेले यो बिषयमा पटक पटक शिक्षा मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन् ।

Keshar Mahal
निर्माणधनी केशर महल

स्रोतका अनुसार केशर महलको बिषयमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनको प्रारूपबारे गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च पदाधिकारीहरूसँग स्वप्न बगैँचामा ‘ब्रिफिङ’ भएको थियो । ‘ब्रिफिङमा केशर महलको दक्षिणतर्फको स्वप्न बगैँचा विकास समितिलाई अब केशर महल विकास समिति बनाउने र सोमार्फत व्यापारिक कार्यमा भौतिक पूर्वाधार प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको छ । स्वप्न बगैँचाले आठ रोपनी क्षेत्रफल चर्चिएको छ भने केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।

यी सबै क्षेत्रमा हेरिटेज रेस्टुरेन्ट बनाउने गरी काम गुपचुप अघि बढाइएको स्रोतको दाबी छ । समितिले तयार गरेको मस्यौदामा केशर महलको पश्चिम (पछाडि) तर्फ एउटा सानो बाटो राखेर पुस्तकालय प्रवेश गर्न दिने उल्लेख छ । केशर महलको दक्षिण–पूर्वतर्फको पहिलो तलाका केही कोठामा केशर पुस्तकालय राख्ने योजना बनाइएको छ । भवनको बाँकी कोठा र बीचको चोकमा चित्रकलासम्बन्धी पसल, रेस्टुरेन्ट, डान्सबार, सांस्कृतिक कार्यक्रम गर्ने थलो आदिका रूपमा विकास गर्ने योजना प्रस्ताव छ ।

केशरशमशेरले सन् १९०९ मा स्थापना गर्नुभएको निजी पुस्तक सङ्ग्रहलाई २०२६ सालमा उहाँकी पत्नी कृष्णचन्द्रदेवीले नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । सो पुस्तकालय हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत छ ।

२०७७ सालमा एक समितिमार्फत महललाई भाडामा लगाउने गरी प्रतिवेदन तयार भएको थियो । उक्त प्रतिवेदन विवादमा परेका कारण केही समय रोकिएको थियो । तर, अहिले  फेरि गठबन्धन सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न लागेको प्रसंग उठेको छ ।

महललाई कसरी व्यवस्थापन गर्ने भन्नका लागि लोकभक्त राणा, युवराज सुुवेदी, दशरथ मिश्र र धुव्रराज रेग्मी रहेको अध्ययन समिति बनेको थियो । स्राेतका अनुसार, केशर शमशेरका नाती हुन लोकभक्त राणा ।

उक्त समितिमा रहेका दशरथ मिश्र मात्रै केशर महललाई भाडामा लगाउन असहमति जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७