राष्ट्रिय सभाको निर्वाचन आज , १९ सिटका लागि मतदान हुँदै


१२ माघ २०७८, बुधबार
Election Nirwachan

काठमाडौं, १२ माघ । बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ ।

मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।’

आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ । ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ । सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सांसद रहेका छ । सो रिक्त रहेको स्थानमा प्रदेश १ बाट ३, प्रदेश नम्बर २ बाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सांसद निर्वाचित हुन लागेका हुन् ।

निर्वाचनका लागि आयोगले ७ प्रदेशमा ८ मतदान स्थल तय गरेको छ । जस अनुसार प्रदेश नम्बर १ मा निर्वाचन कार्यालय विराटनगर र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल कायम गरिएको छ । प्रदेश नम्बर २ मा महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान स्थल तय गरिएको छ । यता बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्र भवनमा कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतको भवनमा र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको प्रदेश सभा भवनमा मतदानस्थल कायम गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ९ दलका ४३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७