भारतको गणतन्त्र दिवसमा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसहितको शुभकामना


१२ माघ २०७८, बुधबार
bidhya

काठमाडौं, १२ माघ । भारतलाई ७३ औँ गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ।

नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले पनि समकक्षी नरेन्द्र मोदीको सुस्वास्थ्यको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् ।

उनले सामाजिक आर्थिक विकासमा भारतले उल्लेखनीय उपलब्धि हाँसिल गरेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा नेपाल भारत सम्बन्ध थप मजबुत हुँदै जाने विश्वाससमेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय सममकक्षी डा। जयशंकर र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७