माओवादीले तोक्यो प्रदेश १ का आठ जिल्ला संयोजक : पार्टी प्रदेश कार्यालयको आफ्नै भवन बनाउने


१२ माघ २०७८, बुधबार
Maobadi Prades 1 Baithak 1
तस्बिर : हाम्रो मत

काठमाडौँ : नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले पार्टीको आठ जिल्लामा संयोजक तोकेको छ । मंगलबार बसेको बैठकले १४ जिल्लाकै नेताहरुसँगको परामर्शमा जिल्ला संयोजक, निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज तोक्ने निर्णय पनि गरेको थियो ।

त्यही निर्णय अनुसार खोटाङमा दिपक पाण्डे, उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राई संयोजक तोकिएका हुन् । बाँकी जिल्लाकै नेताहरुसँगको परामर्शमा तोकिनेछ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले पार्टीको प्रदेश कार्यालय राख्नका लागि आफ्नै भवन बनाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । माओवादीले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्भेक्षण कार्यदल रहेको छ ।

पार्टीले आगामि फागुन चैतसम्म संगठनात्मक अभियान चलाउने भएको छ । यस्तै वडा तहसम्म महाधिवेशनको मूल भाब सम्प्रेषण गर्न प्रशिक्षण आयोजना गर्ने, पार्टीले गरेका कामको प्रचार गर्ने, एक वडामा न्यूनतम ३ टोल कमिटी निर्माण गर्ने, एक टोल कमिटी ३ सेल कमिटी निर्माण गर्ने, जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पाटी सदस्य संख्या थप १ लाख ५० हजारलाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तस्बिर : हाम्रो मत दैनिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७