निगमको सम्पत्ति ‘कौडीको भाउ’ राखेर मूल्यांकन गर्नेलाई नै कार्यकारी अध्यक्षको जिम्मेवारी


१२ माघ २०७८, बुधबार
tourism in nepal

काठमाडौँ : नेपाल वायु सेवा निगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन कम गरेर कम्पनी मोडलमा लैजान सिफारिस गर्ने युवराज अधिकारीलाई नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कार्यकारी अध्यक्ष नियुक्ति गरेको तथ्य खुलेको छ ।

करिब ८० अर्ब बराबरको सम्पतिलाई डीडीए गरेर ५४ अर्बमा सीमित गर्ने अधिकारीलाई पर्यटन मन्त्री आलेले कार्यकारी अध्यक्षको जिम्मेवारीमा लगेका हुन् ।

कार्यकारी अध्यक्षक अधिकारी निगमको तत्कालीन अर्थ विभाग प्रमुख रहेको बेला तीन वर्षअघि नै निगमको सम्पत्ति अत्यन्त कम मूल्यांकन गरी निगमलाई निजीकरण गर्न सुझावसहितको प्रतिवेदन दिएका थिए ।

मन्त्री प्रेम आलेले बारम्बार निगमको अर्बौंको सम्पत्तिलाई कौडीको भाउमा मूल्यांकन निजिकरण गर्ने बिरुद्ध कारबाही गर्ने सार्वजनिक खपतको निम्ती बोलिरहेका छन् । तर उनैले कार्यकारी अध्यक्ष बनाएका अधिकारी यसको प्रमुख योजनाकार रहेको तथ्य देखिन्छ ।

२०७५ मंसिर २५ गते तत्कालीन अध्यक्ष मदन खरेलले सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन  (डीडीए) का लागि अधिकारीकै संयोजकत्वमा उपसिमिति गठन गरका थिए। उपसमितिमा दिपेन्द्र सुवेदी, अनिशा खड्का, ललिता सापकोटा, तारणीराजव दाहाल र प्रतिभा शर्मा सदस्य रहेका थिए।

Yubaraj adhikari

अधिकारी संयोजकत्वकै समितिले निगमको सम्पत्ति ५४ अर्ब १६ करोड रूपैयाँ मूल्यांकन गरेका थिए भने निगमको ऋण ४५ अर्ब ९३ करोड रूपैयाँ रहेको उल्लेख गरेका थिए ।

उनको प्रतिवेदनमा २०७६ असार मसान्तसम्म सम्पूर्ण सम्पत्ति बिक्री गर्ने हो भने ५४ अर्ब १६ करोड ८६ लाख ८० हजार आउने र देशभर रहेका २३ स्थानका जग्गा र भवनको मूल्यांकन ८ अर्ब २७ करोड ५८ लाख ८२ हजार रहेको देखाइएको छ ।

उनको मूल्यांकनपछि २०७५ सालमा निगमका तत्कालीन कार्यकारी अध्यक्ष खरेलले जारी गरेको श्वेतपत्रमा निगमको कुल सम्पत्ति ४८ अर्ब ९३ करोड रुपैयाँ देखाइएको थियो ।त्यसमा निगमसँग रहेका जहाज तथा इन्जिन, पार्टपुर्जा, भवन, जग्गा, बैंक मौज्दात, ग्राउन्ड ह्यान्डलिङका उपकरणहरूको तत्कालको बजार मूल्यलाई जोडिएको थियो ।

अधिकारीको उपसमितिले बुझाएको डीडीए रिपोर्टमा निगमको केन्द्रीय कार्यालय रहेको न्यूरोडस्थित कान्तिपथ–२२ को १४ रोपनी ७ आना १ पैसा १ दाम जग्गाको प्रतिआना २ करोड ५ लाखको दरले मूल्यांकन गरिएको छ । ताकी न्यूरोडको जग्गा ५ करोड रूपैयाँ आनासम्म कारोबार हुने गरेको छ ।

यसैगरी सिनामंगलस्थित निगमको ३४ रोपनी १३ आना जग्गाको मूल्यांकन प्रतिआना ३४ लाख ४० हजार गरिएको थियो । र अहिले सिनामंगलमा प्रति आना जग्गा करोड पुगेको छ ।

जहाज, स्पेयर्स पार्ट्स तथा जहाजको इन्जिनसहितको मूल्यांकन ३६ अर्ब १३ करोड ५७ लाख ५० हजार मूल्यांकन गरिएको छ। निगमको सोल्टी होटलमा भएको लगानीको सम्पत्ति २ अर्ब ९५ करोड रहेको छ।

निगमको ४० वटा देशसँग हवाई सम्झौता छ । त्यससँगै संस्थाको ‘गुडविल भ्यालुएसन’ को छुट्टै मूल्याङ्कन हुने गर्छ । यी सबैलाई नहेरी ८० अर्ब बराबरको सम्पति रहेको निगमको सम्पती डीडीए गरेर ५४ अर्बमा सीमित गरिएको भन्दै यसअघि आलोचना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७