सालाहको निर्णायक गोलमा इजिप्ट क्वार्टर फाइनलमा


१३ माघ २०७८, बिहीबार
Capture1643252123

काठमाडौं । मोहम्मद सालाहको पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि इजिप्टले बुधबार राति आइभोरी कोष्टलाई ५-४ ले हराउँदै अफ्रीकन कप अफ नेसन्सको क्वार्टर फाइनलमा स्थान बनाएको छ ।

गए राति नै सम्पन्न अर्को खेलमा इक्वेटोरियल गिनीले पनि मालीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको छ । इक्वेटोरियल र माली दुबैले पहिलो पाँच प्रहारमध्ये दुईमा गोल गर्न चुकेका थिए । १६औं पेनाल्टी हान्न आएका मालीका रक्षक फलाए साकोको प्रहारलाई इक्वेटोरियलका २० वर्षे गोलकिपर जिसस ओओनोले बचाइ दिएका थिए ।

ओओनोले चाँडै गोललाइन छोडेको भनेर भिडियो सहायक रेफ्री (भिएआर) को सहायता लिएर ‘चेक’ गरिएको थियो । भिएआरले त्यसलाई सही भएको घोषणा गरेपछि इक्वेटोरियल क्वार्टर फाइनलमा पुग्न सफल भएको हो ।

गएराति सम्पन्न दुबै खेलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा अब बुर्किना फासोले ट्युनेसियाविरुद्ध खेल्नेछ भने इक्वेटोरियल गिनीले सेनेगलविरुद्ध खेल्नेछ । आयोजक क्यामरुनले गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । इजिप्टले मोरोक्कोविरुद्ध खेल्नेछ ।

इजिप्टको जितमा लिभरपुलका फरवार्ड सालाहले हानेको पेनाल्टी प्रहार निर्णायक बन्यो । त्यसअघि आइभोरी कोष्टका रक्षक इरिक बैलीले हानेको प्रहारलाई इजिप्टका गोलकिपर मोहम्मद अब्दुल गाबलले बचाइदिएका थिए । यससँगै सालाहले देशका लागि पहिलो उपाधि जित्ने सम्भावना जिवित रहेको छ । इजिप्ट सात पटक अफ्रिकन च्याम्पियन भइसकेको छ । तर, २०१० पछि इजिप्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । सालाहले २०११ मा इजिप्टबाट डेब्यू गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७