कोहलपुरमा धरहराको झल्को दिने १० तले भ्युटावर ठडिंदै


१३ माघ २०७८, बिहीबार
Kohalpur View Tower

बाँके । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका-११ गोलपार्कमा सुविधा सम्पन्न भ्युटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्युटावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

लिफ्टसहितको सुविधा सम्पन्न यस भ्युटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार भ्यु टावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङ्गरोगन र सजावटको काम बाँकी छ ।

मेयर रावतले १० तलाको उचाइसहित निर्माण भएको भ्युटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यु टावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए । पाँच करोड ८८ लाख रुपैयाँको लागतमा अत्याधुनिक भ्युटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्यु टावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । भ्युटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफी शपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।

view tower kohalpur vC6uuUsSCc 1

नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्युटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतराले जानकारी दिए । भ्युटावर पुग्न एक पटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्युटावरमा दृष्यावलोकनका लागि एक पटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे । विगतमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए ।

यही माघ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप ६ महिना म्याद थपको माग भएको छ । भौतिक पूर्वाधार निर्माण काम सम्पन्न भए पनि अन्तिम फिनिसिङ काम सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे । निर्माण नसकिँदै भ्युटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् ।

भ्युटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरकार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । उनले भने, ‘१० तले सुविधा सम्पन्न यस भ्युटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौँ ।’ उनका अनुसार नगरपालिकाले सुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७