क्रिप्टोकरेन्सी मुद्दाका दोषीले जरिवानामै पाए उन्मुक्ति


१३ माघ २०७८, बिहीबार
adalat

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कम्प्युटर सफ्टवेयर प्रयोग गरेर इन्टरनेटमार्फत् पैसाको कारोबार गरिने क्रिप्टोकरेन्सी (बिट क्वाइन) मुद्दामा दोषी ठहर भएका पाँच जनालाई उन्मुक्ति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले निर्धारण गरेको सजाय विवरणअनुसार क्रिप्टोकरेन्सी मुद्दामा दोषी ठहर भएका कसैलाई पनि जेल सजाय तोकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवादी बनाएका १० जनामध्ये पाँच जनालाई काठमाडौं जिल्ला अदालतले गत ३० भदौमा दोषी ठहर गरेको थियो । दोषी ठहर भएकाहरुको सजाय निर्धारण गर्दै बिना जेल जरिवाना मात्रै सुनाइएको हो ।

दोषी ठहर भएका सिन्धुलीको मरिन गाउँपालिका-४, कल्पवृक्ष घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेललाई ६ लाख २७ हजार, अर्घाखाँचीको मालारानी गाउँपालिका-७ खनका ३४ वर्षीय माधव खनाललाई एक लाख १४ हजार ७५०, काठमाडौं-४, भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाहलाई ३० लाख रुपैयाँ, रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ का मनिषकुमार गिरीलाई ११ हजार ४९५ रुपैयाँ र नुवाकोटको बेलकोटगढी नगरपालिका-५ की २४ वर्षीया बिन्दा ढकाललाई ६२ हजार पाँच सय रुपैयाँ जरिवाना निर्धारण गरिएको छ ।

त्यस्तै, राप्रपाका नेता दमन बस्नेतसहित पाँच जनाले भने यो मुद्दामा सफाइ पाएका थिए । अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा बिट क्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यताप्राप्त नभएकाले बिटक्वाइनसम्बन्धी कारोबार नेपालमा पूर्णरुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २०७४ साउन २९ गते सूचना जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७