केन्द्रीय समिति ‘जम्बो’ भएपछि कार्य सम्पादन समिति गठन गर्दै देउवा


१३ माघ २०७८, बिहीबार
deuwa 1

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समिति गठनको तयारी थालेका छन् ।

केन्द्रीय समितिको आकार ठूलो (जम्बो) भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि उनी कार्यसम्पादन समिति गठनको तयारीमा लागेका हुन् । केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि सभापति देउवाले कांग्रेसले भर्चुअल रुपमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । शुक्रबार बस्ने भर्चुअल बैठकमा कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश हुने उनी निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘भोलि (शुक्रबार) भर्चुअल बैठक बस्ने खबर आएको छ,’ ती नेताले सुनाए, ‘कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश हुन्छ । पार्टीका अन्य संरचना गठनका बारेमा पनि छलफल हुन्छ ।’

कार्यसम्पादन समितिमा पदाधिकारीहरु स्वतः पदेन सदस्य हुन्छन् भने सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तका आधारमा ३१ जनाको केन्द्रीय सदस्यको नाम केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गर्ने वैधानिक व्यवस्था छ ।

कार्यसम्पादन समितिमा पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य रहने विधानमा व्यवस्था छ । सभापतिले गरेको प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा बहुमतले अनुमोदन गर्नुपर्ने हुन्छ । महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारी, मनोनित हुन बाँकी कोषाध्यक्ष र प्रवक्ता तथा संसदीय दलका नेता गरी ४७ सदस्यीय कार्यसम्पादन समिति हुने भए पनि दलको नेता सभापति देउवा नै भएकाले ४६ सदस्यीय हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७