मोरङको उखुबारीमा गाडिएको दुई शवमध्ये एक जना भक्तपुरका


१३ माघ २०७८, बिहीबार
dead body morang 1 ofxxVduFEu 1

मोरङ । मोरङको धनपालथान-७ बोर्डिङटोलस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा भेटिएका दुई शवमध्ये एक पुरूषको सनाखत भएको छ ।

बिहीबार दिउँसो खाडलबाट निकालिए दुईमध्ये एक शव सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार सिम कार्ड, पर्स र सवारी चालक अनुमतिपत्रका आधारमा उनको पहिचान भएको हो । शव गाडिएको स्थान बस्तीबाट ५ सय मिटर पर छ ।

dead body morang v6EsRXuOTC

त्यही उखुबारीस्थित ३० मिटर पूर्वतर्फ खाडलमै गाडेको अवस्थामा भेटिएका अर्का पुरुषको सनाखत भएको छैन । उखुबारीभित्र सात फिट गहिरो खाडलमा गाडेको अवस्थामा दुवै शव भेटिएका हुन् । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डोब पनि देखिएको प्रहरीले जनाएको छ ।
शव गाडिएको उखुबारी स्थानीयबासी बरजंगी सिंहको रहेको प्रहरीले जनाएको छ । श्रेष्ठको शव निकालिएको ठाउँबाट ३० मिटर पूर्वतर्फ गंगाप्रसाद सिंहको उखुबारीमा पनि करिब ३५ वर्षीय अर्का पुरुषको पनि शव बुधबार राति भेटिएको थियो ।

दुवै शव एकै शैलीमा खाडल खनेर गाडिएको अवस्थमा भेटिएको जिसीले बताए । सुरुमा उखु काट्ने क्रममा किसानले ताजा माटोसहितका दुई खाडल देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुवै खाडल खनेर हेर्दा कपडा लगाएकै अवस्थामा गाडेका शव भेटिएका हुन् ।

प्रहरीले दुवैको हत्यापछि शव गाडिएको हुन सक्ने निष्कर्ष निकालेको छ । घटनास्थलमा संघीय प्रहरी कार्यालय विराटनगरबाट तालिमप्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थलमा मोरङ प्रहरी प्रमुख जिसी, डीएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का पनि जुटेर अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७