मौसम सुधार हुन अझै केहि दिन लाग्ने, पश्चिमी वायुको प्रभावले बढ्यो चिसो


१४ माघ २०७८, शुक्रबार
snow manang 2

काठमाडौं । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण छिनछिनमा मौसम बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

यतिबेला (शुक्रबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष लगातार घाम नलाग्ने र चिसो स्याँठ बढेपछि सर्वसाधारणले अघिल्ला वर्षभन्दा झन् चिसो भएको महसुस गरिरहेका छन् । यो क्रम दिनहुँ बढिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल आफूले पनि यसपालि चिसो बढ्ता अनुभव गरेको सुनाउँछिन् ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

यस क्रममा प्रदेश-१ र बागमती प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी बुलेटिनमा दिइएको छ । यस्तै आज शुक्रबार राति (भन्नाले साँझ ६ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मको अवधि) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ : प्रदेश-१ तथा बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७