मानव तस्करीका संग्लन उपाध्यायको ‘कनेक्सन’ : अध्यागमनका अधिकारीदेखि प्रहरीका हाकिमसम्म

श्रममन्त्रीको एक्सन : अध्यागमनमा ‘मार्सल टिम’


१४ माघ २०७८, शुक्रबार
Komal Raj Upadhya

काठमाडौँ : बिहीबार (१३ माघ २०७८) मानव तस्करहरुले भिजिट भिसामा युएई (युनाइटेड अरब इमिरेट्स) पुगेर अलपत्र भई नेपाल फर्किएका श्रमिकहरुसँग श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयमा छलफल राखेका थिए । छलफल चलिरहेको बेला पिडितहरुको गुनासो सुन्न बसेका मन्त्री श्रेष्ठको फोनको घन्टी बज्यो ।

त्यो फोनको घन्टी थियो, युएईबाट मानव तस्करीका मुख्य नाइके कोमलराज उपाध्यायको । युएईबाट उपाध्यायले आफ्ना कुरा भनेपछि श्रममन्त्री श्रेष्ठले उनलाई भने, ‘भाई, एउटा के भन्दाखेरी तपाईंलाई मैले स्पष्ट भाई कि तपाईं गल्ति स्विकार्नुस् । कि चित्त बुझाएर काम लगाउनुस् । होइन भने छिटोभन्दा छिटो नेपाल पठाउने काम गर्नुस् । किन भने म आफै २/४ दिन भित्रमा नेपाल प्रहरी लिएर आउँदैछु । दुबईमा छु भनेर सुरक्षित छु भनेर नसोच्नुस् है भाई । मेरो कुरा स्पष्ट छ ।’

कोमलराज उपाध्याय तिनै नाइके हुन्, जसले सैयौं नेपालीहरुलाई भिजिट भिसामा युएई लगेर अलपत्र पारेका छन् । पछिल्लो समयमा मात्रै ११८ नेपाली युवालाई युएई लगेर अलपत्र परेका छन् ।

दुबईस्थित अलफैदीमा कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी नेपाली युवालाई भिजिट भिसामा युएई लगेर अलपत्र पारेका थिए ।

ती ११८ मध्ये अधिकांस त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायको श्रीमती रन्जना ढकाल प्याकुरेलको नाममा रहेको प्रभु बैंकको खातामा नेपालमै रकम जम्मा गरेका थिए ।

११८ जना पछिल्लो घटना मात्र हो । श्रम रोजगार तथा सामाजिक मन्त्रालयमा परेको उजुरी हेर्दा उनले सैयौं युवाहरुलाई अलपत्र पारेका छन् ।
अध्यागमन विभाग को तथ्यांकअनुसार सन् २०२१ मा भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युएई पुगेका छन् । त्यससमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पुगेको देखिन्छ ।

सात हजार ६६ जना मात्रै वास्तविक पर्यटक रहेको अध्यागमनकै तथ्यांकले देखाउँछ  । एक जना बराबर अध्यागमनका कर्मचारीलाई कम्तीमा पनि २० हजार रुपैयाँ बुझाउनु पर्ने तस्करहरुले बताउँदै आएका छन् ।

सन् २०१९ मा दुई लाख नेपाली भिजिट भिसामा युएई गएका थिए । त्यही तथ्यांकलाई आधार मान्ने हो भने पनि वर्ष चार अर्ब रुपैयाँ विभागका कर्मचारीलाई घुस बुझाइएको देखिन्छ ।


अध्यागमनका अधिकारीदेखि प्रहरीका हाकिमसम्म
आफ्नो ‘कनेक्सन’ पनि अध्यागमन विभाग उच्च अधिकारी र प्रहरीका उच्च अधिकारीसम्म रहेको उपाध्याय आफैले दाबी गर्दै आएका छन् । प्रहरीका केही डिआइजीदेखि तलका अधिकृतहरुसँग आफ्नो सहकार्य रहेको उनले धाक दिने गरेका छन् ।

यो तथ्य एक अनलाइनका सम्पादकलाई उपाध्यायले दुबईबाटै टेलिफोनबाट दिएको धम्कीले पुष्टी गर्छ । टेलीफोनमा उनले भनेका थिए, ‘डिआइजी लगाएर पक्राउ गर्छु ।’ उनले प्रहरीका डिआइजी आफ्नो हातमा रहेको भन्दै धक्काएका थिए ।

स्रोतका अनुसार उपाध्यायलाई मानव तस्करीमा सघाउने प्रहरी अधिकारीको विरुद्ध पनि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयमा सूचना पुगेको छ । गृह र प्रधान कार्यालयले तथ्यको खोजी गरीरहेको स्रोतको दाबी छ । गृह स्रोतले भन्यो, ‘एक डिआइजी र केही अधिकृतहरु संग्लन भएको उजुरी आएको छ । तथ्यको खोजी भइरहेको छ ।’

यता अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दोसी भेटिए कारबाही हुने बताउदैँ आएका छन् । स्रोतका अनुसार उपाध्यायसँगको सेटिङमा विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही संग्लन रहेको उजुरी परेको छ ।

गृहले उपाध्यायसँग ‘कनेक्सन’मा रहेका कर्मचारीहरुको बारेमा पनि तथ्य खोजीरहेको स्रोतको दाबी छ । तर महानिर्देशक भट्टराईले भने यो बिषय उतिधेरै चासो नदेखाएको विभागकै कर्मचारीहरुको भनाई छ ।


श्रममन्त्रीको एक्सन : अध्यागमनमा ‘मार्सल टिम’
भिजिट भिसाको आवरणमा दलाल र कर्मचारीले मिलेमतो गर्दै मानव तस्करीको धन्दा चलाएको आशंकामा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘मार्सल टिम’ परिचालन गरेको छ ।

मानव तस्करको योजनाअनुसार भिजिट भिसामा जानेलाई सहजीकरण गर्ने अध्यागमनका कर्मचारी र यात्रा गर्ने व्यक्तिमाथि निगरानी गर्न बिहीबारबाट गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि सम्मिलित मार्सल टिम खटाइएको हो ।

यस्तै विदेशमा बसेर विमानस्थलमार्फत मानव तस्करी गर्ने दुई शंकास्पद व्यक्तिका बैंक खाता रोक्का गर्दै अनुसन्धान गर्न पनि राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।

दुबईमा बसेर भिजिट भिसाको आवरणमा तस्करले ‘पीडित’ लाई तोकिएको बैंकमा रकम जम्मा गर्न लगाउने र त्यसपछि अध्यागमनका कर्मचारी मिलाएर प्रस्थान अनुमति दिने गरेको खुलेपछि त्यस्ताको बैंक खातामाति छानबिन गर्न राष्ट्र बैंकलाई परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले मार्सल टिम खटाइएको पुष्टि गरे । भिजिट भिसाका नाममा असुलेको पैसा बैंकमा जम्मा गरेको हुन सक्ने शंकामा छानबिनका लागि राष्ट्र्र बैंकको सहयोग मागिएको उनको भनाई छ ।

मार्सल टिम खटाएकै दिन बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन डेस्कमा कार्यरत ४ अध्यागमन अधिकृत र एक कम्प्युटर अपरेटर गृह मन्त्रालय तानिएका छन् । दलालसँग साँठगाँठ गरेको आशंकामा उनीहरूलाई अनुसन्धानका लागि मन्त्रालय फिर्ता बोलाइएको गृहले जनाएको छ ।

अध्यागमनका कर्मचारीकै सेटिङमा गिरोहले भिजिट भिसामार्फत मानव तस्करी गर्ने गरेको खुलेपछि मंगलबार विस्तृत अध्ययन गर्न गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलको सयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७