गोर्खा सेनाका जायज माग सम्वोधन गर्न बेलायती राजदूतलाई गृहमन्त्री खाँणको आग्रह


१४ माघ २०७८, शुक्रबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच शुक्रबार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरेका छन् । त्यस्तै गृहमन्त्री खाँणले लैंगिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको कामको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै गृहमन्त्री खाँणले कोभिड-१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका थिए । गृहमन्त्री खाँणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकहरूको सेवा सुविधाका लागि उठेका मागहरूको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरेका थिए ।

भेटमा राजदूत पोलिटले कोभिड-१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताए । त्यस्तै राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने बताए । भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७