भिजिट भिसामार्फत मानव तस्करी : विमानस्थल अध्यागमनका पाँच अधिकृत तानिए


१४ माघ २०७८, शुक्रबार
tribhuvan international airport

काठमाडौँ : भिजिट भिसामा सेटिङ्ग गरेर मानव तस्करहरुसँग मिलेर मानव तस्करीमा संग्लन भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन डेस्कमा कार्यरत ४ अध्यागमन अधिकृत र एक कम्प्युटर अपरेटर गृह मन्त्रालय तानिएका छन् । दलालसँग साँठगाँठ गरेको मानव तस्करीमा संग्लन भएको आशंकामा उनीहरूलाई अनुसन्धानका लागि मन्त्रालय फिर्ता बोलाइएको गृह मन्त्रालयले जनाएको छ ।

अध्यागमन विभागले भिजिट भिसामा कामदार यूएईमा पठाउने दलाल गिरोहका कोमलराज उपाध्याय लगायतसँग कनेक्सन देखिएका अध्यागमन अधिकृतहरु नइन्द्र पौडेल, अच्यूत केसी, अविलाल राई, पुष्पराज शर्मा र रामप्रसाद ओली र कम्प्युटर अप्रेटर सन्तोषजंग शाहलाई तानेको छ । उनीहरुको मोवाइल जफत गरी अनुसन्धान गर्दा भिजिट भिसामा नेपाली युवाहरुलाई पठाउने गिरोहसँग कनेक्सन देखिएकाले तानिएको विभागका अधिकारीले बताए ।

अध्यागमन अधिकृत अच्यूत केसी २ महिनाअघि एयरपोर्ट अध्यागमन कार्यालयमा काजसरुवा भएका थिए । विभागले उनको काजफिर्ता गरेको छ । नइन्द्र पौडेललाई गृहमन्त्रालयमा तानिएको छ । अविलाल राईलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा पठाइएको छ । पुष्पराज शर्मालाई इलाका प्रशासन कार्यालय माडी चितवन, रामप्रसाद ओलीलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ ।

यी पाँचै जना अध्यागमन अधिकृतको भिजिट भिसामा दुवई पठाउने त्रिनेत्र म्यानेजमेन्ट कन्सलटेन्सीका संचालक कोमलराज उपाध्याय र उनकी श्रीमती रन्जना ढकाल प्याकुरेलसँग कनेक्सन देखिएकाले स्पष्टीकरण लिने र कारबाहीको प्रक्रिया अगाडि बढाउने विभागका अधिकारीले बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको समस्याबमोजिम तत्कालै एक्सनमा जाने गरी मार्सल टिम बनाइएका थिए । टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछानेलगायत नेपाल प्रहरीका प्रतिनिधि छन् । मार्सल टिम खटाएकै दिन बिहीबार साँझ त्रिभुवन उनीहरु गृह मन्त्रालय तानिएका हुन् ।

अध्यागमनका कर्मचारीकै सेटिङमा गिरोहले भिजिट भिसामार्फत मानव तस्करी गर्ने गरेको खुलेपछि मंगलबार विस्तृत अध्ययन गर्न गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलको सयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र्र मन्त्रालयका सहसचिव हरिशचन्द्र पौडेल, विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकाल, अध्यागमन विभागका निर्देशक प्रकाशचन्द्र अधिकारी र वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी छन् ।

अध्यागमन विभाग को तथ्यांकअनुसार सन् २०२१ मा भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युएई पुगेका छन् । त्यससमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पुगेको देखिन्छ ।

सात हजार ६६ जना मात्रै वास्तविक पर्यटक रहेको अध्यागमनकै तथ्यांकले देखाउँछ  । एक जना बराबर अध्यागमनका कर्मचारीलाई कम्तीमा पनि २० हजार रुपैयाँ बुझाउनु पर्ने तस्करहरुले बताउँदै आएका छन् ।

सन् २०१९ मा दुई लाख नेपाली भिजिट भिसामा युएई गएका थिए । त्यही तथ्यांकलाई आधार मान्ने हो भने पनि वर्ष चार अर्ब रुपैयाँ विभागका कर्मचारीलाई घुस बुझाइएको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७