उपाधिका लागि आज ६ पटकको म्याम्पियन मनाङ र पहिलोपल्ट फाइनल पुगेको एपीएफ भिड्दै


१५ माघ २०७८, शनिबार
aaharara final apfvsmanang 20220128094908

पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज (शनिबार) विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्याङ्दी क्लब भिड्दै छन् । खेल पोखरा रंगशालमा हुनेछ । यस पटकको उपाधिका लागि ६ पटक च्याम्पियन बनिसकेको मनाङसँग १४ वर्षपछि फाइनलमा पुगेको एपीएफको पहिलो भेट भएको हो ।

नेपाल पुलिस क्लबसँग बराबरी ६ पटक च्याम्पियन रहेको मनाङ सातौं पटक च्याम्पियन बनेर आहा रारा गोल्डकपमा सर्वाधिक उपाधि विजेताको ताज पहिरने रेकर्ड कायम गर्न आतुर छ । यसको छिनोफानो भने दुवै टोलीका खेलाडीले गर्ने प्रदर्शनमा निर्भर रहनेछ । पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र टिम कप्तानले आआफ्नो दाबेदारी प्रस्तुत गरे । पत्रकार सम्मेलनमा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले आफ्नो खेलाडीले एकपछि अर्को खेलमा सुधार गर्दै आएको र आहा रारा गोल्डकपमा पनि तीन खेल जितेर फाइनलमा पुगेकोले पहिलो पटक उपाधि जितेर इतिहास रच्ने दाबी गरे ।

कठिन परिस्थितिमा जसरी आयोजक सहारा क्लबले कडा मेहनत गरेर प्रतियोगिताको आयोजना गरेको छ उसैगरी मेहनत गरेर आफ्नो टिमले उपाधि जित्ने प्रशिक्षक थापाले सुनाए । खेलाडी सबै उत्तिकै मेहनती र अब्बल रहेकोले पनि जित आफ्नै टिमको पक्षमा हुने उनले बताए । मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले पनि एपीएफका प्रशिक्षकको भनाइलाई पुष्टि हुने गरी एपीएफका खेलाडीले एकपछि अर्को खेलमा सुधार ल्याउँदै गएकोले आफ्नो टिमलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको बताए । खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेकोले शनिबार उपाधि जित्ने गरी तयारीमा रहेको उनले सुनाए ।

मनाङका कप्तान विमल रानाले गृह मैदानमा पुनः जित निकाल्दै सर्वाधिक च्याम्पियन बन्ने गरी मैदानमा उत्रने सुनाए । एपीएफ राम्रो टिम रहेको र त्यसैअनुसार आफूहरू पनि तयारी रहेको उनले बताए। आफू कप्तान हुँदा ट्रफी उचालेर नयाँ रेकर्ड कायम गर्न आतुर रहेको पनि उनले सुनाए ।

एपीएफका कप्तान नवीन लामाले आफ्नो सानैदेखिको चाहना आहा रारा गोल्डकपमा खेल्ने रहेको सम्झँदै टिमका लागि पहिलो पटक उपाधि जितेर इतिहास रच्ने सपना पूरा गर्ने अवसरको रूपमा फाइनल खेललाई लिएको बताए । यसैअनुसार टिमले रणनीति बनाएर मैदानमा उत्रने उनले बताए । १४ वर्षपछि फाइनलमा पुगेर पाएको उपाधि जित्ने अवसरलाई पूरा गर्नु मुख्य लक्ष्य रहने दोहोर्‍याए ।

एपीएफ उद्घाटन खेलमा आयोजक सहारालाई २-०, क्वार्टरफाइनलमा बीवाईएससी मिनिसोटा अमेरिकालाई ३-१ र सेमिफाइनलमा मच्छेन्द्र क्लबलाई ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यता मनाङ दुई खेल खेलेर फाइनल यात्रा तय गरेको हो । मनाङले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनल र आर्मीलाई टाइब्रेकरमा ४-३ ले हराउँदै १२ औं पटक फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७