बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता


१५ माघ २०७८, शनिबार
water 2 scaled
फाइल फोटो

काभ्रेपलाञ्चोक । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।

बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ । दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर-एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताए ।

यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु हुने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१/०८२ भित्र सम्पन्न हुने जनाइएको छ । सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ । आयोजनाको कुल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजना अन्तर्गत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०/०८१ भित्र निर्माण सम्पन्न हुनेछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७