भक्तपुरको इन्द्रायणी मन्दिरबाट सयौं वर्ष पुराना सामग्री चोरी


१५ माघ २०७८, शनिबार

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४ मा रहेको इन्द्रायणी मन्दिरबाट हिजो सयौं वर्ष पुराना महत्वपूर्ण सरसामग्री चोरी भएका छन् ।

मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय सांस्कृतिक एवम् नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरको भण्डारबाट सयौं वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको हो । यस्तै मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, सालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको नाच गुरु श्रेष्ठले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौं वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै थप अनुसन्धान सुरु भएको जानकारी दिए । चोरी भएका सामान र गिरोहको खोजी भइरहेको उनको भनाइ छ ।

केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु समेत चोरी भएको थियो । पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोह नै सक्रिय भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७