स्थानीय तहको निर्वाचन सारिए संविधान नै समाप्त हुन्छ : पूर्व प्रधानन्यायाधीश पराजुली


१५ माघ २०७८, शनिबार
gopal parajuli2022 01 28 08 09 23

काठमाडौं । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिएका छन् ।

पूर्व प्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिस्टम नै नरहने अवस्था आउने पनि बताए ।

पूर्व प्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरूलाई बल पुग्नेतर्फ पनि सचेत गराए । उनले भने, ‘निर्वाचन सार्ने भनेको त्यो आफैँमा यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । डेमोक्रेसीलाई पनि धावा बोल्छ । अर्को त्यति मात्रै नभएर विधि र संविधानको उपहास गर्छ । त्यसकारण मेरो प्रस्ट धारणा छ । साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ । गठबन्धन होस् वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । र, अन्ततः यो डेमोक्रेटिक सिस्टम जान्छ र जसले यो संविधान चाहेका छैनन् । त्यस्ता तत्वहरूलाई ठूलो टेवा मिल्छ ।’

पूर्व प्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सुचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने मागसमेत गरे। उनले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गरे । उनले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचनासमेत गरे ।

पूर्व प्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्बन गरेकाले राजनीतिक दलहरूले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने पटक पटक दोहोर्‍याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७