गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार, बुद्ध जयन्तीबाट नियमित उडानको तयारी


१५ माघ २०७८, शनिबार
gautam buddha international airport 21 yl8W4J5D0P

काठमाडौं । निर्माण थालिएको सात वर्षमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको छ ।
विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ । आउँदो बुद्ध जयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ । त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कणर्ले जानकारी दिए ।

‘बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने लक्ष्य राखिएको छ,’ कणर्ले भने, ‘सोही बमोजिम अहिले द्रुत गतिमा काम भइरहेको छ । क्यालिव्रकेसन फ्लाइटको चरणमा पुगिसकेका छैनौं । त्यस अघि केही उपकरणहरुको परीक्षण जारी छ ।’

विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ । एरोथाइले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड चेकजाँच र परीक्षण उडानको काम गर्दैछ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट ४ जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ ।

अहिले ग्राउण्ड टेष्टको काम सुरु भएको छ । फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्टिय गौरब आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले बताए । ‘प्राविधिक जडानका कामहरु सकियो । त्यसको ग्राउण्ड टेष्टको काम शुरु भएको छ । फेबुअरीको तेस्रो हप्तातिर जहाज आउने कुरा छ,’ उनले भने, ‘प्राविधिकहरुलाई तालिम र जडान भएका उपकरण तथा प्रणालीको परीक्षण कार्य भइरहेको छ ।’

जडान भएका उपकरणहरुले राम्रोसँग काम गरेको छ कि छैन भनेर ग्राउण्ड टेष्ट गरिएको न्यौपनाले बताएका छन् । ‘ग्राउण्डमा सबै कुरा ठीक भइसकेपछि जहाजको परीक्षण उडान गर्ने हो,’ उनले भने, ‘उडानका क्रममा पाइलटले बोलेको कुरा एयर ट्राफिक कन्ट्रोलरले सुन्न पर्‍यो । कम्युनिकेसन ब्रेक छ कि छैन भनेर चेक गर्नुपर्‍यो । त्यसको परीक्षण हुनेछ ।’

परीक्षण उडान सकिएको दुईसाता रिर्पोट आउन सयम लाग्छ । अन्तिम रिपोर्ट आएपछि अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण आइकाओको नियम अनुसार उडानको लागि तयार छौं भनेर एरोनोटिकल इन्फरमेसन प्लान एआइपीमा प्रकाशित गर्नुपर्छ ।
‘त्यसमा विश्वव्यापी रुपमा थाहा हुनेगरि हाम्रो विमानस्थलको अवस्था के छ, कत्रा जहाज आउन सक्छन्, कुन रुटमा जान सकिन्छ भन्ने हुन्छ,’ न्यौपानेले भने । एआइपीमा प्रकाशित गरेका ५६ दिनपछि मात्र व्यवसायीक उडान गर्न सकिन्छ ।

जेठ २ गते बुद्ध जयन्तीका दिनबाट नियमति उडान गर्नेगरी काम भइरहेका न्यौपानेले बताए । ‘फागुनको अन्तिमसम्म परीक्षण उडान गरियो भने चैत्र र बैशाख २ महिनामा अरु प्रक्रिया सकिन्छ,’ उनले भने, ‘जेठ २ गते व्यवसायीक उडान सुरु गर्न सक्यौं भने त्यो हाम्रो लागि ठूलो उपलब्धी हुन्छ । बुद्ध जयन्तीको दिन विश्वव्यापी रुपमा सन्देश पनि राम्रो जान्छ ।’

परीक्षण उडानको तयारीको लागि अहिले भैरहवामा थाइल्याण्डकोसहित अष्ट्रियन प्राविधक टोलीले पनि काम गरिरहेका छन् । परिक्षण उडानअघि थप अष्ट्रियन र अमेरिकाका प्राविधिक टोली पनि आउने न्यौपानेले बताए । उडान तयारीको लागि प्राविधिकहरुको तालिम पनि चलिहरेको छ । १२ जना इन्जिनियरहरु तालिममा सहभागी छन् । २०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । ३ वर्षमा सम्पन्न हुने भनिए पनि पटक-पटक म्याद थप भएर सात वर्ष लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७