गृहमन्त्री खाँणले प्रजिअहरुलाई सोधे, ‘जाडो र कोरोना र शान्ति सुरक्षाको अवस्था के छ ?’


१५ माघ २०७८, शनिबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निणर्य कार्यान्वयन र कोभिड-१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् ।

गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानो कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

यस्तै उनले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्ति सुरक्षा र कोभिड-१९ लगायतका विषयमा जानकारी लिएका हुन् ।

यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड-१९ सङ्क्रमणको अवस्था, खोप लगाएकाको सङ्ख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड-१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन् । सरकारले गत मङसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएको थियो ।

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाँणले टेलिफोनमा जिल्लामा कोभिड-१९ को सङ्क्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए ।

“मन्त्रीज्यूले बिहान टेलिफोनमा जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड सङ्क्रमण, कोभिडविरुद्धको खोप र शीतलहरबारे जानकारी लिनुभयो”, प्रजिअ तामाङले भने । सीमा नाकाबाट आउने नागरिकमा कोभिडको सङ्क्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिए ।

इलामका प्रजिअ ढुङ्गानाले सीमाबाट आएका नागरिकमा कोभिड सङ्क्रमणको अवस्था, निको हुने दर, विद्यालय सञ्चालनको अवस्था कस्तो छ भनेर मन्त्री खाँणले जानकारी लिएको बताए । गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैसीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड सङ्क्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७