स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक जारी


१५ माघ २०७८, शनिबार
satta gathabandhan baithak

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको दोस्रो बैठक शुरु भएको छ । स्थानीय निकाय निर्वाचनलगायतका विषयमा विचार-विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको हो ।

आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बाहेक चार वटै राजनीतिक पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । पार्टीको काम विशेषले काठमाडौं बाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका बताइएको छ ।

सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् । गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका हुन् ।

बैठकमा काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी छन् । स्रोतका अनुसार आजको बैठकले स्थानीय तहको मितिका बारेमा टुङ्गो लगाएर सरकारलाई तोक्न सुझाव दिनेछ । त्यसपछि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति टुङ्गो लगाउने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७