कानुनविद् भट्टराई भन्छन्, ‘अनावश्यक धाराबारे बहस जरुरी छैन, वैशाखभित्रै निर्वाचन गर्नुपर्छ’


१५ माघ २०७८, शनिबार
Tikaram Bhattarai1613392562

काठमाडौं । कानुनविद्हरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने बताएका छन् । कानुनविद् टीकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गरेका हुन् । उनीहरुले संविधानको अनावश्यक धाराबारे बहस गरेर चुनावलाई पछि धकेल्न नहुने बताएका छन् ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष समेत रहेका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तर्राष्ट्रिय मान्यता रहेको पनि स्मरण गराए । उनले स्थानीय तह पदाधिकारीविहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पारे ।

उनले भने, ‘संविधानको धारा २२५ मा पहिलो नगरसभा र गाउँसभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्यो । त्यसको शुरुवात पहिलो चरणको निर्वाचनबाटै गणना हुने अन्तर्राष्ट्रिय मान्यता पनि छ । भारतमा पनि लोकसभाको निर्वाचन नौं चरणमा भएको थियो । तर, त्यसको कार्यकाल पहिलो चरणको निर्वाचनलाई आधार मानेर बनाइएको थियो ।’

नेपाल बार एशोसिएसनका पूर्व महासचिव पोखरेलले जेठ ५ गतेभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताए । उनले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराए ।

पोखरेलले भने, ‘संविधानको धारा २१५ र २१६ मा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरिएको छ । त्यो भनेको पाँच वर्ष एक दिन हुँदैन । त्यसैले संविधानले किटान गरेको पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ । यति जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ ।’ महासचिव पोखरेलले दलहरुले संविधान र कानुन विपरीत भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७