विमलको गोलमा मरिससमाथि नेपाल विजयी


१५ माघ २०७८, शनिबार

काठमाडौं, १५ माघ । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे ।

२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।पुनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् ।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । त्यसपछि अन्जन विष्टको प्रहारलाई मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइसले सहजै बचाए । सुमन लामाको प्रहार आकासियो ।

१६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे । ३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे ।

४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो । डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । ४६औं मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा नेपालको खतरा टरेको थियो । ५५औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए ।

मौरिससका डिफेन्डरबीच तालमेल मिल्न नसक्दा अन्जन विष्टले बल खोस्दै दिएको पासमा अफसाइड बिट ट्याप गर्दै बिमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससँगै बिमलको गोलसंख्या ९ पुगेको छ ।

७६औं मिनेटमा जगजित श्रेष्ठको फ्रिकिकमा अन्जन विष्टको हेडर क्रसबारमा लागेर फर्कदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै अन्जन विष्टको प्रहार पोलमा लागेर फर्कदा जगजित श्रेष्ठको प्रहार आकासियो । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७