‘विदेशमा जस्तो दुःख गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’


१६ माघ २०७८, आईतवार
goat 1

गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालन सुरु गरेका छन् । गलकोट नगरपालिका-५ भैंसे बाँसबारीका रमेश बस्नेतले आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।

गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन् । आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्‍यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट-९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन् ।

व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगालेका छन् । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गरेका उनले पढाइ र पेशा भन्ने विषय फरक भएको बताउँछन् । ‘पढाइ र पेशा भन्ने विषय हाम्रोजस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनुपर्छ कि अरु कुनै पेशा समात्नु पर्छ’, उनले भने, ‘म इञ्जिनियर हुँ, यसअनुसारको जागिर पाउन मुस्किल पर्छ ।’

उनले गल्याङगाउँमा रु ६० लाख लगानीबाट बोयरजातका बाख्रापालन व्यवसाय सुरु गरेका छन् । उनको फार्ममा अहिले साना-ठूला गरी ३३ बाख्रा छन् । बाख्रापालनमा भविष्य खोजिरहेका ३२ वर्षीय बस्नेत डिप्लोमा इञ्जीनियरिङ अध्ययनपश्चात विदेश गएका थिए । फार्म स्थापना गरेको ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ र घाँसपातको राम्रो व्यवस्था भएको उनको भनाइ छ । उनले भने, ‘विदेशमा जस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ ।’ व्यवसायी बस्नेतले आफू सुरुमा साथीहरूको लहलहैमा लागेर जापान गएको जनाउँदै अब आफू गाउँमै उद्यमी बन्ने बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७