वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? यी नम्बरमा सिधै फोन गर्नुस्


१६ माघ २०७८, आईतवार
uykadfkdmg1643528444

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ ।

चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे । वैदेशिक रोजगार विभागअन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा नै राखिएको हो ।

अब कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइकक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले जनाएको छ । उक्त सेन्टरमा विदेशमा गएर समस्यामा परेका जोकोहीले गुनासो टिपाउन सक्ने छन् । मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्नेछ ।

जानकारी तथा गुनासोका लागि स्वदेश र विदेशबाट निःशुल्क फोन, भाइबर, फेसबुकलगायत विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्री श्रेष्ठले बताए । यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिने छ ।

आएका समस्या तथा गुनासोहरूलाई प्राथमिकीकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने उनले जानकारी दिए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता पनि जनाए । उनले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको जानकारी दिए ।

वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगीलगायत क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्थाउपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानुनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक काबवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ । विदेशमा अलपत्र बनाउने दलालको फन्दाबाट जोगाउन सरकारले यसअघि श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टिम पनि गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७