सिजनमै चिनीमा कालोबजारी, किलोकै एक सय रुपैयाँ


१७ माघ २०७८, सोमबार
sugar chini
सांकेतिक तस्वीर

काठमाडौं । उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो । चालू आर्थिक वर्षमा सरकारले साल्ट टे्रडिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।

साल्ट ट्रेडिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।

‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै एक सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दो हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’ राजधनी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७