चैनपुरमा खानेपानीको चरम अभाव, १४ परिवारले गाउँ छाडे


१७ माघ २०७८, सोमबार
water

संखुवासभा । संखुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर-१० का १४ घरपरिवार बसाइँ सरेका हुन् ।

सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल विसौना र मलाटेका लगायत गाउँमा खानेपानीको चरम अभाव भएपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका हुन् । चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेका वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूणर्जीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मङ्गल तामाङ बसाइँ सरेका छन् ।

कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् । त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राई लगायतको घरपरिवार बसाइँ सरेको छ । झिलझिले गाउँको टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब दुई हजार ५ सय घरधुरीमा खानेपानीको अभाव छ ।

गाउँमा पानीको मुहान नहुँदा स्थानीयले पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग खाने गरेका छन् । पिलुवा खोलामा पानी लिन जाँदा दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीयवासी भरत भण्डारीले बताए । खानेपानीको चरम अभाव भएको चैनपुर-१० मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल सङ्खुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ ।

खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोधसमेत गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७