तत्काल दूधको मूल्य नबढाए आन्दोलन गर्ने किसानको चेतावनी


१७ माघ २०७८, सोमबार
dudh milk

चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।

दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने किसानको माग छ । संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु ७ र डेरी उद्योगीलाई रु ३ दिने तयारी गरेको बताइएको छ ।

उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए । अध्यक्ष न्यौपानेले भने, ‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनु पर्छ ।’ सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुने गरेको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने संघले जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७