सीके राउतको आन्दोलनप्रति गृहमन्त्री खाँणको चासो


१७ माघ २०७८, सोमबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड-१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।

गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिरहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड-१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासनभत्ता वितरण कसरी हुन्छ भन्नेबारेमा जानकारी लिएको प्रहरी प्रमुखहरूले जानकारी दिएका छन् ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासनभत्ता, शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए । ‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासनभत्ता वितरणको अवस्था र कोभिड-१९ को प्रहरीमा र नागरिकमा प्रभावबारे जानकारी लिनुभयो’, उनले भने ।

तराईका जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाँणले डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका थिए । सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सीके राउतको आन्दोलनको अवस्थाबारे जानकारी लिएको जानकारी दिए ।

‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, सीके राउतको आन्दोलन, कोभिड-१९ को अवस्था र प्रहरीको रासनभत्ताबारे मन्त्रीज्यूले जानकारी लिनुभयो’, प्रहरी उपरीक्षक काफ्लेले भने । झापाका प्रहरी प्रमुख उपरीक्षक विश्वमणि पोखरेलले प्रहरीमा र समग्र जिल्लामा कोभिड-१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, जाडोमा न्यानो कपडाबारे जानकारी लिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७