सत्ता स्वार्थका लागि एमसीसी सम्झौता नगर्न भीम रावलको चेतावनी


१७ माघ २०७८, सोमबार
Bhim Rawal 1

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षड्यन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले यो सम्झौता नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र हितविपरीत रहेको पनि बताए । ‘यस्ता विषयमा विवेकको आँखा खोलेर हेर्न आग्रह गर्छु’, उनले भने, ‘मातृभूमिको स्वाधीन भविष्यका लागि फेरि गहिरो गरी अध्ययन गर्न आग्रह गर्दछु ।’ एमसीसी यथास्थितिमा अनुमोदन गर्न नहुने कुरा कुनै पूर्वाग्रहबाट नआएको पनि उनले स्पष्ट पारेका छन् । सम्झौता राष्ट्र हितविपरीत भएकोले त्यसको समीक्षा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

नेपालको प्रसारण लाइन र त्यसले चर्चेको जग्गामा असीमित समयसम्म एमसीसीको अधिकार हुने भएकाले यसलाई पाँच वर्षे परियोजना भन्न नसकिने पनि उनले बताए । एमसीसीबारेमा नेपाल सरकारमा निर्देशन अधिकारसम्म नहुने गरी सम्झौताको ड्राफ्ट तयार भएको पनि उनले जिकिर गरेका छन् । देशको स्वाधीनतालाई आघात पुग्ने गरी कुनै पनि मुलुकसँग हात पसार्नु अनुचित हुने पनि उनले बताएका छन् । ‘के कुनै राष्ट्रको सहायता लिन राष्ट्रको स्वतन्त्रता, स्वाधीनता स्वाभिमान र हितलाई बन्धकी राख्न मिल्छ र ?’, उनले प्रश्न गरेका छन् ।

सच्चा राष्ट्रवादी आँखाले हेर्ने हो भने एमसीसी राष्ट्रघाती भएको रावलले दावी गरेका छन् । त्यसैले यसविरुद्ध लाग्न आवश्यक रहेको उनले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँगको भेटमा यो उमेरमा कसरी राष्ट्रघाती काम गर्न सक्छु ? भनेको कुरा पनि रावलले स्मरण गराए । प्रधानमन्त्री विदेशी शक्ति सामु लत्रिन लागेको पनि रावलले आरोप लगाए । सत्ता स्वार्थका लागि राष्ट्रघाती सम्झौता नगर्न पनि उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७