गृहमन्त्री खाँणले विहानै गरे १४ जिल्लाका प्रजिअलाई टेलिफोन, के भयो कुराकानी ?

‘सामान्यतया महत्वपूर्ण घटना नभई गृहमन्त्रीले टेलिफोन गरेको जानकारी थिएन’


२० माघ २०७८, बिहीबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आज (बिहीबार) विहानै १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत संवाद गरेका छन् । उनले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग बिहीबार टेलिफोन वार्ता गरी जिल्लाको अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही), चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर)सँग टेलिफोन वार्ता गरेका छन्। त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेको बताइएको छ ।

खाँणले प्रजिअहरूसँग जिल्लामा कोभिड-१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड-१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन लगायतका विषयमा जानकारी लिएका हुन् ।

नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए । ‘गृहमन्त्री ज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो,’ सहायक प्रजिअ बरालले भने, ‘मन्त्री ज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ ।’

कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए । उनले भने, ‘सामान्यतया आन्तरिक विषयवस्तुमा महत्वपूणर् घटना नभई टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्री ज्यूले टेलिफोन गर्दा काम गर्न जोश, जाँगर र सतर्क रहन सिकाएको छ ।’ पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैँले टेलिफोन गर्दा काम गर्ने हौसला प्रदान गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७